रुकुमपूर्व :
शुक्रबारदेखि परेको निरन्तर हिमपातका कारण रुकुमपूर्व खण्डको मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना सडकखण्डमा बाक्लो हिउँ जम्दा सवारी साधन सञ्चालन हुन नसकेको हो ।

सडक बन्द हुँदा काठमाडौंबाट रुकुमपूर्व तथा रुकुमपश्चिमतर्फ गएका यात्रुबाहक बसहरू बाटोमै रोकिएका छन् । गाडी हिउँमा फसेपछि यात्रुहरू चिसो मौसममा समस्यामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सूचना प्राप्त हुनासाथ उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ ।

हाल पनि सो क्षेत्रमा हिमपात जारी रहेकाले उद्धार तथा सडक खुलाउने काममा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । सडक सुचारु गर्न स्थानीय तहसँग समन्वय गरी डोजर तथा स्काभेटर प्रयोग गरेर हिउँ पन्छाउने तयारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको कार्यालयले फसेका यात्रुहरूको सुरक्षित उद्धारलाई प्राथमिकता दिइएको र मौसम अनुकूल भएलगत्तै सडक खुलाइने जानकारी दिएको छ । हिमपातका कारण रुकुमपूर्वका उच्च पहाडी क्षेत्रको जनजीवनसमेत प्रभावित बनेको छ ।